गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन आवश्यक भएको छ। जति जति त्यस घटनाका सत्य, तथ्य र मिथ्या सूचना र अपूरा चित्रहरू सामुन्ने आएका छन्, तिनले न्यायिक छानबिनको मागलाई झन् झन् आवश्यक बनाएका छन्।
राजावादीहरूको प्रदर्शनमा हिंसात्मक घटना भएको झन्डै सात दिन हुन लाग्दा हामी त्यसको न्यायिक छानबिन जरूरी छ भन्ने निष्कर्षमा पुग्नुका पछाडि चार वटा मुख्य कारण छन्।
पहिलो कारण — यो प्रदर्शनमा भएका हिंसात्मक घटनाहरूमा के के भएको थियो भन्नेबारे आरोप, प्रत्यारोप र दोषारोपण जारी छ।
पत्रकार र आम मानिसले खिचेका विभिन्न भिडिओ फुटेज, प्रत्यक्षदर्शीले दिएका फरक फरक र कतिपय सन्दर्भमा बाझिने ‘बाइट’ र ब्यानले यो घटनाको प्रस्ट तस्बिर बुझ्न सहयोग गर्नुभन्दा अन्योल थप्न मद्दत गरेका छन्। त्यसमाथि काँटछाँट गरिएका र डिपफेक भिडियोसम्म प्रयोग भएको छ भन्ने दाबीले यो घटनाको यथार्थ तस्बिर झनै दुरूहपूर्ण बन्दै गएको छ।
अहिले नेपालमा मात्र होइन, संसारभरि नै समयको यस्तो दौर छ, जहाँ जिम्मेवार मिडियामा आएका भिडियो, फोटा वा अन्य सामग्रीलाई मानिसहरूले आआफ्नो रूचि र बुझाइ अनुसार ‘सत्य’ र ‘फेक (झुटो)’ भनिदिन्छन्। त्यसैले हामीलाई तीनकुनेमा भएको हिंसात्मक झडपमा के के भएको थियो भनेर सत्यतथ्य स्थापित गर्ने एउटा सर्वमान्य विधि वा प्रक्रिया चाहिएको छ।










