निजगढ,‘लिटिल बुद्ध’ भनिने बाराको निजगढ १२ बुङ्गजोरका रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त हुनुभएको हो ।सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताउनुभयो ।
बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उहाँले उच्च अदालतमा पुनरावेदन निवेदन दिनुभएको थियो । ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भन्नुभयो ।

उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक हुुनुहुन्थ्यो । उहाँलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो । ‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो ।’ रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो ।
बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो । सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उहाँ त्यहीँ कारागारमा हुनुुहुन्थ्यो । सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन ।यसअघि २०८१ साउन ८ गते बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बमजनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो ।
बमजनविरूद्ध एउटा निवेदन बारा जिल्ला प्रहरीमा पनि छ । जीतपुरसिमरा उपमहानगरपालिका– १८ बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए । त्यो निवेदन अझैसम्म दर्ता भएको छैन ।सर्लाहीको बागमती नगरपालिका– १२ की रिता बोट बेपत्ता प्रकरणको उजुरी परेको थियो । त्यो उजुरी के भयो भन्ने सर्लाही प्रहरीले बताउन सकेको छैन । बमजनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन ।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका– १२ हो । ३० वर्षीय उहाँको वास्तविक नाम रामलाल बमजन हो । २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई काठमाण्डौंको बुढानिलकण्ड नगरपालिकाको हात्तीगौंडास्थित उहाँ हाल बसोबास गर्दैआएको घरैबाट पक्राउ गरेको समाचार कृपा दैनिकले पठाएको छ ।










