२०८२ चैत्र १ आईतवार

राजकुमार यादव 

रौतहट निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पूर्ण समर्थन जनाएको छ।

उक्त पार्टीले बुधबार एक लिखित निर्णय सार्वजनिक गर्दै रौतहट ३ बाट उम्मेदवार रहेका नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहालाई समर्थन गर्ने घोषणा गरेको हो।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार उपेन्द्र मुखिया (विन) ले जारी गरेको समर्थनपत्रमा आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजय सुनिश्चित गर्न सम्पूर्ण मतदातासमक्ष अपिल गरिएको उल्लेख छ।

समर्थन पत्रमा राष्ट्रहित,विकास र स्थायित्वका पक्षमा साझा सहकार्य आवश्यक रहेको भन्दै यसपटक नेकपा (एमाले) का उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिएको जनाइएको छ।

यस समर्थनसँगै रौतहट ३ मा चुनावी समीकरण थप रोचक बनेको छ। विभिन्न दलबीचको ध्रुवीकरण तीव्र बन्दै गइरहेका बेला प्रगतिशील लोकतान्त्रिक पार्टीको समर्थनले उम्मेदवार कुन्दन कुशवाहाको चुनावी अभियानलाई थप बल पुग्ने आकलन गरिएको हो ।

राजकुमार यादव

रौतहट जिल्ला प्रहरी कार्यालयको आयोजना तथा मौलापुर नगरपालिकाको सहकार्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम शनिबार मौलापुर नगरपालिकाको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चालन मौलापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत केसीले गरेका थिए। संयमित नेतृत्व, स्पष्ट वाक्पटुता र विषयवस्तुमा गहिरो पकड देखाएका निरीक्षक केसीले सम्पूर्ण कार्यक्रमलाई अनुशासित, जीवन्त र उद्देश्यपूर्ण ढंगले अगाडि बढाएका थिए। सहभागीहरूलाई सहज रूपमा जोड्दै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उनको प्रस्तुति प्रशंसनीय रह्यो।

कार्यक्रममा रौतहट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, मौलापुर नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी उपरीक्षक रिजालले चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयबाट सम्पादन गरिएका प्रमुख कामकारबाहीहरू श्रव्य–दृश्य माध्यममार्फत प्रस्तुत गर्दै समुदायको सहकार्यबिना शान्त, सुरक्षित र मर्यादित समाज निर्माण सम्भव नहुने स्पष्ट पारे। उनले विशेषगरी लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै यसविरुद्ध सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना अनिवार्य रहेकोमा जोड दिए। साना लापरबाहीले ठूला दुर्घटना निम्त्याउने भन्दै उनले हेलमेट र सिट बेल्टको प्रयोग, गति नियन्त्रण तथा मापदण्डअनुसार सवारी साधन सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले लागुऔषध कारोबार, समाजमा विद्यमान छुवाछुतको समस्या, तथा भारतबाट सादी विवाह प्रयोजनका लागि ल्याइने सामग्री प्रहरीले नियन्त्रणमा लिने विषय लगायतका प्रश्न र गुनासो राखेका थिए। प्रहरी नेतृत्वले उठाइएका गुनासोहरू लाई कानुनी दायराभित्र रही समाधान गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

नागरिक र प्रहरीबीच प्रत्यक्ष संवाद, विश्वास र सहकार्यको उदाहरण बनेको उक्त कार्यक्रमले मौलापुर क्षेत्रमा सुरक्षा, सामाजिक सद्भाव र सचेतनाको नयाँ सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।

राजकुमार यादव
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विद्युत चोरी गर्दै आएका ६ जनालाई बिहीबार राति पक्राउ गरिएको छ। विद्युत चुहावट नियन्त्रण तथा अवैध प्रयोग रोक्ने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये कटहरिया नगरपालिका वडा नं. १ (झडवा) बाट १ जना, वडा नं. ३ (विर्ती) बाट १ जना, वडा नं. ४ (बलिरामपुर) बाट १ जना तथा देवाही गोनाही नगरपालिका वडा नं. ७ र ८ बाट २ जना रहेका छन्। मौलापुर वितरण केन्द्रका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

बिहीबार राति करिब १० बजे खटिएको संयुक्त टोलीले डाइरेक्ट हुकिङमार्फत अनाधिकृत रूपमा विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको मौलापुर विद्युत वितरण केन्द्रले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

यस सम्बन्धमा मौलापुर वितरण केन्द्रका प्रमुख उमेश कुमार दासले विद्युत चोरी नियन्त्रणका लागि अब थप कडा कदम चालिने स्पष्ट पार्दै विद्युत चोरीजस्तो गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याइने चेतावनी दिनुभएको छ। साथै उहाँले सर्वसाधारणलाई विद्युत चोरी नगर्न, विद्युतको वैध प्रयोग गर्न तथा प्राधिकरणलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

प्रदुमन यादव / राजकुमार यादव
रौतहट जिल्लाको मौलापुर बजारमा कानु हलवाई समाज महासंघ नेपालद्वारा आज शनिबार भव्य रूपमा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ।
कार्यक्रममा नेपालसहित भारतको बिहार राज्यबाट आएका जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो भने हजारौंको संख्यामा कानु समुदायका नागरिकहरूको सहभागिता देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कानु हलवाई समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजकुमार साह रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा बिहार राज्यका विधायकहरू राधाचरण साह, सतिश कुमार साह, छोटीकुमारी साह तथा नेपाल सरकारको पूर्व मन्त्री ज्वाला साह र बाबुलाल साहको उल्लेखनीय उपस्थिति रहेको थियो।

जागरण सभामा बोल्दै केन्द्रीय अध्यक्ष राजकुमार साहले कानु समाजको संरक्षण, अधिकार र पहिचानका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहसँग सम्बन्धित गर्दै गत १० वर्षदेखि सत्तामा रहँदा कानु समाजप्रति के कस्ता काम भए भन्ने विषयमा स्पष्ट हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।

अध्यक्ष साहले राजनीतिक पहुँचमा पुगेका प्रतिनिधिहरूले समुदायप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै सामाजिक न्याय, अवसरको समानता र समावेशी विकास बिना समुदायको वास्तविक उन्नति सम्भव नहुने धारणा राख्नुभयो।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व विधायक बाबुलाल साहले कानु समाजलाई अब विभाजन होइन, एकता र संगठनमार्फत अघि बढ्नुपर्ने समय आएको बताउनुभयो। उहाँले शिक्षा, राजनीति, व्यापार र सामाजिक क्षेत्रमा कानु समुदायको सक्रिय सहभागिता बढाउन आफू सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
बिहार राज्यका विधायकहरूले नेपाल भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई स्मरण गर्दै सीमापार समुदायबीच सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमका क्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सभाले कानु समुदायको हकहित, पहिचान र अधिकारका लागि संगठित संघर्ष अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
मौलापुरमा सम्पन्न यो जागरण सभा तथा सम्मान समारोहले कानु समाजभित्र नयाँ चेतना, एकता र राजनीतिक सामाजिक बहसलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ रहेको छ।

राजकुमार यादव
रौतहटको गढीमाई नगरपालिका–८ बरियारपुरमा आज शुक्रबार कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा आयोजित समारोहबीच सेवा केन्द्रको उद्घाटन गरिएको हो।

रिड कार्यक्रम अन्तर्गत निर्माण गरिएको दुई तले भवन करिब २ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। सेवा केन्द्र सञ्चालनमा आएपछि गढीमाई नगरपालिकाका किसान तथा पशुपालकहरूलाई कृषि प्रविधि, पशु उपचार, बीउबिजन, प्राविधिक परामर्शलगायत सेवा स्थानीय तहमै उपलब्ध हुने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, वडा नम्बर ८ का वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कृषक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री डा. परियारले कृषि तथा पशुपन्छी क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित संघीय सरकारले सेवा केन्द्रहरूको विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताए। उनले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे।

नगरप्रमुख यादवले स्थानीय किसानको आवश्यकता अनुसार कृषि पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नवनिर्मित सेवा केन्द्रबाट किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

राजकुमार यादव
विश्व शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आइतबार रौतहटको समनपुरमा विश्व ध्यान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

गढीमाई नगरपालिका कार्यालयको आयोजनामा समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुलको प्रांगणमा आयोजित उक्त कार्यक्रममा जीवन विज्ञानका प्रदेश प्रमुख देवनाथ सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको अध्यक्षता गर्दै गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले ध्यानले मानसिक शान्ति, स्वास्थ्य सुदृढीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता सकारात्मक कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले ध्यान अभ्यासले मानिसको मानसिक स्वास्थ्य, सुख ,शान्ति र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने भन्दै दैनिक जीवनमा ध्यानको आवश्यकता रहेको बताए।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन वडा नम्बर १ का पूर्व वडाध्यक्ष रामविन्य यादवले मनोरञ्जनात्मक शैलीमा गर्नुभएको थियो।

विश्व ध्यान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले समाजमा शान्ति, सहिष्णुता र सकारात्मक सोच प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

राजकुमार यादव (रौतहट)
सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा आज सोमबार मौलापुर पिकनिक पार्कमा सम्पन्न भएको छ ।

कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहले हाल समुदायिक रेडियोहरूले सामना गरिरहेको चुनौतीहरूलाई औँल्याउँदै सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो। आन्दोलनका समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारप्रति सरकारले पूरा जिम्मेवारी नलिएर निष्क्रिय देखिएको पनि उहाँको भनाइ थियो।

त्यस्तै, विशिष्ट अतिथि तथा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले मधेशका पत्रकारहरूको हितका लागि पत्रकार हरुको जीवन बीमा, दक्षता अभिवृद्धि तालिम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। पत्रकारहरूले पनि पेशागत आचारसंहिता र मर्यादाअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले परम्परागत विधिमा मात्र निर्भर नभई रेडियोहरूले नयाँ प्रविधिको उपयोग गर्दै सामाग्री उत्पादनमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो।

त्यस्तै, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख तथा विशिष्ट अतिथि प्रेमलाल साहले पत्रकारहरू ‘अवाजविहीनहरूको आवाज’ भएको उल्लेख गर्दै जनताको समस्या, पीडा र यथार्थलाई केलाएर तथ्यमा आधारित समाचार तयार पार्न आग्रह गर्नुभयो। पत्रकारको कलमबाट कुनैपनि पात्र अन्यायमा नपर्नु पर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेशकी अध्यक्ष उपसना तिवारीले समुदायिक रेडियोहरू आर्थिक तथा प्राबिधिक संकटबाट गुज्रिरहेको बताउँदै संघले रेडियोको सुरक्षा, स्थायित्व र सुदृढीकरणका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। प्रदेश सरकारमार्फत रेडियोलाई सहयोग पुग्ने गरी विज्ञापन तथा विविध कार्यक्रमहरू उपलब्ध गराइरहेको समेत बताउनुभयो। रेडियोहरूले पनि आफ्ना प्रसारण सामग्रीमा गुणस्तर र पेशागत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा रेडियो रौतहटका चंचल झा र महोत्तरीका निरञ्जन साहले रेडियोहरूले भोगिरहेका चुनौती, समस्या र सुधारका आवश्यकतामाथि आफ्ना धारणा राखेका थिए। उक्त कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश मैनालीले गर्नुभएको थियो।

राजकुमार यादव
रौतहट अब बोल्दै छ, परिवर्तनको बाटो खोज्दै छ। यथास्थितिवादी र पुरातनवादी सोचलाई चुनौती दिंदै Gen-Z युवाहरूले मौलापुर नगरपालिकामा वृहत पैदल यात्रा गर्दै पारदर्शिता र सुशासनको पक्षमा जोरदार आवाज उठाएका छन्। आन्दोलनका क्रममा युवाहरूले बुधबार मौलापुर नगरपालिका प्रमुखलाई सम्बोधन गरिएको ७ बुँदे ज्ञापनपत्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई बुझाएका छन्।

देशको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमान जोगाउँदै भदौ २३ गते भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति शुरू गरिएको ऐतिहासिक आन्दोलनलाई निरन्तरता दिंदै Gen-Z ले सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै सुशासनका लागि आफ्नो संकल्प दोहोर्‍याएको छ। युवाहरूले ‘सूचना अधिकार ऐन, २०६४’ को धारा ३ अन्तर्गत नागरिकलाई प्राप्त मौलिक अधिकार प्रयोग गर्दै नगरपालिकासँग पारदर्शिता सम्बन्धी महत्वपूर्ण सूचनाहरू माग गरेका छन्।

१. पार्क होटलको स्वामित्व र कागजात सार्वजनिक गर्नुपर्ने माग

युवाहरूले मौलापुर पूर्व पश्चिमस्थित पार्क होटल कसको नाममा दर्ता गरिएको हो भन्ने विषयमा नगरपालिका मौन बसेको आरोप लगाउँदै, यसको स्वामित्व, दर्ता कागजात र कानुनी प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन्।

२. होटलमा खर्च भएको पालिकाको रकम प्रष्ट खुलाउने माग

उक्त होटलमा निर्माणदेखि सञ्चालनसम्म नगरपालिकाबाट खर्च भएको रकमबारे विगतदेखि नै प्रश्न उठ्दै आएको जनाउँदै, Gen-Z ले यसको सम्पूर्ण बिल भौचर, लेखा जोखा र निर्णय प्रक्रिया सार्वजनिक गर्न दवाब दिएको छ।

३. सबै करार कर्मचारीको विवरण सार्वजनिक गर्न आग्रह

नेपालभर करार नियुक्तिमा मनपरी चरम स्तरमा पुगेको उल्लेख गर्दै, युवाहरूले मौलापुर नगरपालिकामा कार्यरत सबै करार कर्मचारीहरूको नाम, पद, तलब भत्ता र नियुक्तिका आधार मापदण्ड खुला गर्न माग गरेका छन्।

४. स्वास्थ्य चौकीहरूमा औषधी पठाएको O.C र औषधि वितरणको अभिलेख सार्वजनिक गर्न माग

स्वास्थ्य क्षेत्रमा अनियमितता भएको आरोप उठाउँदै, गत तथा चालु वर्षमा विभिन्न स्वास्थ्य चौकीहरूमा पठाइएका औषधीको O.C तथा औषधि आपूर्तिको बिल भौचर, गोदाम अभिलेख र वितरण विवरण सार्वजनिक गर्न युवाहरूले स्पष्ट माग राखेका छन्।

५. पालिकामा दर्ता भएका पत्र पत्रिकाको चलानी र डिजिटल अभिलेख खुलाउने माग

प्रशासनिक दस्तावेज लुकाउने प्रचलन अन्त्य गर्नुपर्ने जिकिर गर्दै, युवाहरूले पालिकामा दर्ता भएका सबै पत्र पत्रिकाको चलानी दर्ता, नवीकरण तथा डिजिटल अभिलेख सर्वसाधारणका लागि खुला गर्नुपर्ने बताएका छन्।

६. वडा नं.५ को अधुरो कोल्ड स्टोरको बजेट र प्रगति विवरण माग

वर्षौँदेखि रोकिएको कोल्ड स्टोर परियोजना भ्रष्टाचार र अव्यवस्थित योजनाको उदाहरण भएको आरोप लगाउँदै, Gen-Z ले यसमा वर्षेनी बजेट विनियोजन भए पनि काम नबढेको कारणका साथै खर्च कहाँ कसरी भयो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेका छन्।

Gen-Z युवाहरूले यी सबै सूचना ७ दिनभित्र उपलब्ध गराउन नगरपालिकालाई कडा ध्यानाकर्षण गराएका छन्। माग पूरा नभए चरणबद्ध र सशक्त आन्दोलनमा जाने चेतावनी पनि उनीहरूले दिएका छन्।

Gen-Z मौलापुर संयोजक रितिक कुमार पटेलले भने,
“हाम्रो माग राजनीतिक होइन, जनताका करबाट चल्ने प्रशासन पारदर्शी बनाउने उद्देश्य हो। नगरपालिका मौन बस्यो भने युवाहरू अझ बलियो आन्दोलनमा उत्रिनेछन्, र त्यसका लागि सम्पूर्ण जिम्मेवारी नगरपालिका नेतृत्वले लिनुपर्छ।”

ज्ञापनपत्र बुझाइसकिएको यो कदमलाई रौतहटमा बढ्दो युवा चेतना र पारदर्शिता अभियानको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। अब नगरपालिका प्रशासनको प्रतिक्रिया कस्तो आउनेछ भन्ने विषयमा स्थानीय नागरिकको चासो बढिरहेको छ।

राजकुमार यादव
जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेटमा आज एक पीडित परिवारले न्यायको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन्। धर्नास्थलमा असामान्य भीड लागेपछि सुरक्षाकर्मी र सर्वसाधारणको ध्यान त्यतातिर केन्द्रित भएको थियो।

घटनास्थलमा एक किशोर पीडामा छटपटाइरहेको दृश्य अत्यन्त पीडादायी देखिन्थ्यो। पीडितको आमा र काकी आँसु झार्दै न्यायको याचना गरिरहेका थिए। उनीहरू वडाध्यक्षद्वारा कुटपिट तथा लापरवाहीका कारण जीवन संकटमा परेका आफ्ना छोराका लागि प्रहरीसँग न्याय माग्न जिल्ला प्रहरी कार्यालय गौरको गेटमै बस्न बाध्य बनेका हुन्।

गत असार ६ गते मौलापुर नगरपालिका–३ गम्हरियाका वडाध्यक्ष महेश महतो कोइरीले स्थानीय १६ वर्षीय निरज कुशवाहालाई मोटरसाइकलले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते निरजको उपचारका लागि सुरुमा स्थानीयले सहयोग गरे पनि अवस्था जटिल बन्दै गएपछि उनलाई नेशनल मेडिकल कलेज, वीरगञ्ज हुँदै न्युरो अस्पताल, बासबारी (काठमाडौं) ल्याइएको थियो। हेलिकप्टर चार्टर गरी ल्याइएको उनको उपचारमा करिब पाँच कठ्ठा जग्गा बेच्नुपरेको पीडित परिवारले बताएको छ।

तर, वडाध्यक्षले उपचार खर्चका लागि सहयोग नगरेको र उल्टै पीडित पक्षलाई धम्की दिइएको आरोप लागेको छ।
पीडितकी आमा समुना देवी कुशवाहाले भनिन्, “वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले उपचार खर्च तिरिदिनुको सट्टा उल्टै गाली गरेर धपायो। अहिले हामीसँग केही बाँकी छैन, त्यसैले न्यायको लागि प्रहरीकै शरणमा आएका हौँ।”

पीडित पक्षले पटक पटक आग्रह गरे पनि वडाध्यक्षविरुद्ध मुद्दा दर्ता नभएपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटको गेटमा शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
आन्दोलनमा सहभागी स्थानीयवासीहरूले “पीडितलाई न्याय देऊ, दोषीलाई कारबाही गर” भन्दै नाराबाजी गरेका थिए। उनीहरूले वडाध्यक्ष कोइरीमाथि कानूनी कारबाही गर्न, पीडितको उपचार खर्च तत्काल उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

आन्दोलनमा कुशवाहा परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदिप वस्यालले भने,
“दुर्घटनामा परेका किशोर हाल शारीरिक रूपमा अशक्त अवस्थामै छन्। पिडकबाट उपचार खर्च दिलाई पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइएको छ।”

राजकुमार यादव
शुभ दीपावली र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै मौलापुर नगरपालिका–८ र ९ का स्थानीय युवा नेता नन्दकिशोर राय यादवको नेतृत्वमा सोनरनिया गाउँको मुख्य सडकमा आधुनिक बत्ती जडान गरिएको छ।

यो पहल पूर्ण रूपमा यादवको निजी लगानी र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका कारण सम्भव भएको हो। उनका अनुसार गाउँको अँध्यारो सडकमा बत्ती जडान गर्ने सपना पुरानो थियो, जुन अहिले पूरा भएको छ।

स्थानीयवासीहरूले बत्ती जडान भएपछि गाउँ टोल झलमल्ल उज्यालोमय बनेको र साँझपख हिँडडुल गर्न सहज भएको बताएका छन्।
“नगरपालिका र वडा कार्यालयले वर्षौँदेखि ध्यान नदिएको काम युवाले आफ्नै खर्चमा गरेर देखाए,” एक स्थानीय बासिन्दाले भने, “हामी सबै यादवप्रति आभारी छौं।”

सोनरनिया गाउँ अब साँझपछि पनि उज्यालोले झलमल्ल हुने भएपछि त्यसले गाउँको सौन्दर्य मात्र होइन, सुरक्षा र सामाजिक जीवनमा पनि सुधार ल्याएको छ।

युवा नेता यादवले भने, “समाजको विकासका लागि सरकारी निकायको प्रतिक्षा गरेर बस्नु हुँदैन। युवाले आफूबाट सक्दो योगदान दिनुपर्छ। यो बत्ती जडान कार्य त्यसैको एउटा सानो प्रयास हो।”

उनी भन्छन्, यो सुरुवात मात्रै हो, आगामी दिनमा शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा पनि युवाको नेतृत्वमा ठूला काम गर्ने योजनामा आफू जुटिरहेको छु।

यस सामाजिक योगदानले नन्दकिशोर राय यादवलाई मौलापुरका युवाबीच प्रेरणादायी नेतृत्वको प्रतीक बनाइदिएको छ। स्थानीयवासीले उनको पहललाई दिगो विकास र आत्मनिर्भर गाउँको दिशामा उठेको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।