
राजकुमार यादव
विश्व शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आइतबार रौतहटको समनपुरमा विश्व ध्यान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
गढीमाई नगरपालिका कार्यालयको आयोजनामा समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुलको प्रांगणमा आयोजित उक्त कार्यक्रममा जीवन विज्ञानका प्रदेश प्रमुख देवनाथ सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता गर्दै गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले ध्यानले मानसिक शान्ति, स्वास्थ्य सुदृढीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता सकारात्मक कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले ध्यान अभ्यासले मानिसको मानसिक स्वास्थ्य, सुख ,शान्ति र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने भन्दै दैनिक जीवनमा ध्यानको आवश्यकता रहेको बताए।
कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन वडा नम्बर १ का पूर्व वडाध्यक्ष रामविन्य यादवले मनोरञ्जनात्मक शैलीमा गर्नुभएको थियो।
विश्व ध्यान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले समाजमा शान्ति, सहिष्णुता र सकारात्मक सोच प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
राजकुमार यादव (रौतहट)
सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा आज सोमबार मौलापुर पिकनिक पार्कमा सम्पन्न भएको छ ।
कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहले हाल समुदायिक रेडियोहरूले सामना गरिरहेको चुनौतीहरूलाई औँल्याउँदै सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो। आन्दोलनका समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारप्रति सरकारले पूरा जिम्मेवारी नलिएर निष्क्रिय देखिएको पनि उहाँको भनाइ थियो।

त्यस्तै, विशिष्ट अतिथि तथा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले मधेशका पत्रकारहरूको हितका लागि पत्रकार हरुको जीवन बीमा, दक्षता अभिवृद्धि तालिम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। पत्रकारहरूले पनि पेशागत आचारसंहिता र मर्यादाअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले परम्परागत विधिमा मात्र निर्भर नभई रेडियोहरूले नयाँ प्रविधिको उपयोग गर्दै सामाग्री उत्पादनमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो।
त्यस्तै, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख तथा विशिष्ट अतिथि प्रेमलाल साहले पत्रकारहरू ‘अवाजविहीनहरूको आवाज’ भएको उल्लेख गर्दै जनताको समस्या, पीडा र यथार्थलाई केलाएर तथ्यमा आधारित समाचार तयार पार्न आग्रह गर्नुभयो। पत्रकारको कलमबाट कुनैपनि पात्र अन्यायमा नपर्नु पर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेशकी अध्यक्ष उपसना तिवारीले समुदायिक रेडियोहरू आर्थिक तथा प्राबिधिक संकटबाट गुज्रिरहेको बताउँदै संघले रेडियोको सुरक्षा, स्थायित्व र सुदृढीकरणका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। प्रदेश सरकारमार्फत रेडियोलाई सहयोग पुग्ने गरी विज्ञापन तथा विविध कार्यक्रमहरू उपलब्ध गराइरहेको समेत बताउनुभयो। रेडियोहरूले पनि आफ्ना प्रसारण सामग्रीमा गुणस्तर र पेशागत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा रेडियो रौतहटका चंचल झा र महोत्तरीका निरञ्जन साहले रेडियोहरूले भोगिरहेका चुनौती, समस्या र सुधारका आवश्यकतामाथि आफ्ना धारणा राखेका थिए। उक्त कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश मैनालीले गर्नुभएको थियो।
राजकुमार यादव
रौतहट अब बोल्दै छ, परिवर्तनको बाटो खोज्दै छ। यथास्थितिवादी र पुरातनवादी सोचलाई चुनौती दिंदै Gen-Z युवाहरूले मौलापुर नगरपालिकामा वृहत पैदल यात्रा गर्दै पारदर्शिता र सुशासनको पक्षमा जोरदार आवाज उठाएका छन्। आन्दोलनका क्रममा युवाहरूले बुधबार मौलापुर नगरपालिका प्रमुखलाई सम्बोधन गरिएको ७ बुँदे ज्ञापनपत्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई बुझाएका छन्।
देशको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमान जोगाउँदै भदौ २३ गते भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति शुरू गरिएको ऐतिहासिक आन्दोलनलाई निरन्तरता दिंदै Gen-Z ले सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै सुशासनका लागि आफ्नो संकल्प दोहोर्याएको छ। युवाहरूले ‘सूचना अधिकार ऐन, २०६४’ को धारा ३ अन्तर्गत नागरिकलाई प्राप्त मौलिक अधिकार प्रयोग गर्दै नगरपालिकासँग पारदर्शिता सम्बन्धी महत्वपूर्ण सूचनाहरू माग गरेका छन्।
१. पार्क होटलको स्वामित्व र कागजात सार्वजनिक गर्नुपर्ने माग
युवाहरूले मौलापुर पूर्व पश्चिमस्थित पार्क होटल कसको नाममा दर्ता गरिएको हो भन्ने विषयमा नगरपालिका मौन बसेको आरोप लगाउँदै, यसको स्वामित्व, दर्ता कागजात र कानुनी प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन्।
२. होटलमा खर्च भएको पालिकाको रकम प्रष्ट खुलाउने माग
उक्त होटलमा निर्माणदेखि सञ्चालनसम्म नगरपालिकाबाट खर्च भएको रकमबारे विगतदेखि नै प्रश्न उठ्दै आएको जनाउँदै, Gen-Z ले यसको सम्पूर्ण बिल भौचर, लेखा जोखा र निर्णय प्रक्रिया सार्वजनिक गर्न दवाब दिएको छ।
३. सबै करार कर्मचारीको विवरण सार्वजनिक गर्न आग्रह
नेपालभर करार नियुक्तिमा मनपरी चरम स्तरमा पुगेको उल्लेख गर्दै, युवाहरूले मौलापुर नगरपालिकामा कार्यरत सबै करार कर्मचारीहरूको नाम, पद, तलब भत्ता र नियुक्तिका आधार मापदण्ड खुला गर्न माग गरेका छन्।
४. स्वास्थ्य चौकीहरूमा औषधी पठाएको O.C र औषधि वितरणको अभिलेख सार्वजनिक गर्न माग
स्वास्थ्य क्षेत्रमा अनियमितता भएको आरोप उठाउँदै, गत तथा चालु वर्षमा विभिन्न स्वास्थ्य चौकीहरूमा पठाइएका औषधीको O.C तथा औषधि आपूर्तिको बिल भौचर, गोदाम अभिलेख र वितरण विवरण सार्वजनिक गर्न युवाहरूले स्पष्ट माग राखेका छन्।
५. पालिकामा दर्ता भएका पत्र पत्रिकाको चलानी र डिजिटल अभिलेख खुलाउने माग
प्रशासनिक दस्तावेज लुकाउने प्रचलन अन्त्य गर्नुपर्ने जिकिर गर्दै, युवाहरूले पालिकामा दर्ता भएका सबै पत्र पत्रिकाको चलानी दर्ता, नवीकरण तथा डिजिटल अभिलेख सर्वसाधारणका लागि खुला गर्नुपर्ने बताएका छन्।
६. वडा नं.५ को अधुरो कोल्ड स्टोरको बजेट र प्रगति विवरण माग
वर्षौँदेखि रोकिएको कोल्ड स्टोर परियोजना भ्रष्टाचार र अव्यवस्थित योजनाको उदाहरण भएको आरोप लगाउँदै, Gen-Z ले यसमा वर्षेनी बजेट विनियोजन भए पनि काम नबढेको कारणका साथै खर्च कहाँ कसरी भयो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेका छन्।
Gen-Z युवाहरूले यी सबै सूचना ७ दिनभित्र उपलब्ध गराउन नगरपालिकालाई कडा ध्यानाकर्षण गराएका छन्। माग पूरा नभए चरणबद्ध र सशक्त आन्दोलनमा जाने चेतावनी पनि उनीहरूले दिएका छन्।
Gen-Z मौलापुर संयोजक रितिक कुमार पटेलले भने,
“हाम्रो माग राजनीतिक होइन, जनताका करबाट चल्ने प्रशासन पारदर्शी बनाउने उद्देश्य हो। नगरपालिका मौन बस्यो भने युवाहरू अझ बलियो आन्दोलनमा उत्रिनेछन्, र त्यसका लागि सम्पूर्ण जिम्मेवारी नगरपालिका नेतृत्वले लिनुपर्छ।”
ज्ञापनपत्र बुझाइसकिएको यो कदमलाई रौतहटमा बढ्दो युवा चेतना र पारदर्शिता अभियानको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। अब नगरपालिका प्रशासनको प्रतिक्रिया कस्तो आउनेछ भन्ने विषयमा स्थानीय नागरिकको चासो बढिरहेको छ।
राजकुमार यादव
जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेटमा आज एक पीडित परिवारले न्यायको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन्। धर्नास्थलमा असामान्य भीड लागेपछि सुरक्षाकर्मी र सर्वसाधारणको ध्यान त्यतातिर केन्द्रित भएको थियो।
घटनास्थलमा एक किशोर पीडामा छटपटाइरहेको दृश्य अत्यन्त पीडादायी देखिन्थ्यो। पीडितको आमा र काकी आँसु झार्दै न्यायको याचना गरिरहेका थिए। उनीहरू वडाध्यक्षद्वारा कुटपिट तथा लापरवाहीका कारण जीवन संकटमा परेका आफ्ना छोराका लागि प्रहरीसँग न्याय माग्न जिल्ला प्रहरी कार्यालय गौरको गेटमै बस्न बाध्य बनेका हुन्।
गत असार ६ गते मौलापुर नगरपालिका–३ गम्हरियाका वडाध्यक्ष महेश महतो कोइरीले स्थानीय १६ वर्षीय निरज कुशवाहालाई मोटरसाइकलले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते निरजको उपचारका लागि सुरुमा स्थानीयले सहयोग गरे पनि अवस्था जटिल बन्दै गएपछि उनलाई नेशनल मेडिकल कलेज, वीरगञ्ज हुँदै न्युरो अस्पताल, बासबारी (काठमाडौं) ल्याइएको थियो। हेलिकप्टर चार्टर गरी ल्याइएको उनको उपचारमा करिब पाँच कठ्ठा जग्गा बेच्नुपरेको पीडित परिवारले बताएको छ।

तर, वडाध्यक्षले उपचार खर्चका लागि सहयोग नगरेको र उल्टै पीडित पक्षलाई धम्की दिइएको आरोप लागेको छ।
पीडितकी आमा समुना देवी कुशवाहाले भनिन्, “वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले उपचार खर्च तिरिदिनुको सट्टा उल्टै गाली गरेर धपायो। अहिले हामीसँग केही बाँकी छैन, त्यसैले न्यायको लागि प्रहरीकै शरणमा आएका हौँ।”
पीडित पक्षले पटक पटक आग्रह गरे पनि वडाध्यक्षविरुद्ध मुद्दा दर्ता नभएपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटको गेटमा शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
आन्दोलनमा सहभागी स्थानीयवासीहरूले “पीडितलाई न्याय देऊ, दोषीलाई कारबाही गर” भन्दै नाराबाजी गरेका थिए। उनीहरूले वडाध्यक्ष कोइरीमाथि कानूनी कारबाही गर्न, पीडितको उपचार खर्च तत्काल उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
आन्दोलनमा कुशवाहा परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदिप वस्यालले भने,
“दुर्घटनामा परेका किशोर हाल शारीरिक रूपमा अशक्त अवस्थामै छन्। पिडकबाट उपचार खर्च दिलाई पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइएको छ।”
राजकुमार यादव
शुभ दीपावली र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै मौलापुर नगरपालिका–८ र ९ का स्थानीय युवा नेता नन्दकिशोर राय यादवको नेतृत्वमा सोनरनिया गाउँको मुख्य सडकमा आधुनिक बत्ती जडान गरिएको छ।
यो पहल पूर्ण रूपमा यादवको निजी लगानी र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका कारण सम्भव भएको हो। उनका अनुसार गाउँको अँध्यारो सडकमा बत्ती जडान गर्ने सपना पुरानो थियो, जुन अहिले पूरा भएको छ।
स्थानीयवासीहरूले बत्ती जडान भएपछि गाउँ टोल झलमल्ल उज्यालोमय बनेको र साँझपख हिँडडुल गर्न सहज भएको बताएका छन्।
“नगरपालिका र वडा कार्यालयले वर्षौँदेखि ध्यान नदिएको काम युवाले आफ्नै खर्चमा गरेर देखाए,” एक स्थानीय बासिन्दाले भने, “हामी सबै यादवप्रति आभारी छौं।”
सोनरनिया गाउँ अब साँझपछि पनि उज्यालोले झलमल्ल हुने भएपछि त्यसले गाउँको सौन्दर्य मात्र होइन, सुरक्षा र सामाजिक जीवनमा पनि सुधार ल्याएको छ।
युवा नेता यादवले भने, “समाजको विकासका लागि सरकारी निकायको प्रतिक्षा गरेर बस्नु हुँदैन। युवाले आफूबाट सक्दो योगदान दिनुपर्छ। यो बत्ती जडान कार्य त्यसैको एउटा सानो प्रयास हो।”
उनी भन्छन्, यो सुरुवात मात्रै हो, आगामी दिनमा शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा पनि युवाको नेतृत्वमा ठूला काम गर्ने योजनामा आफू जुटिरहेको छु।
यस सामाजिक योगदानले नन्दकिशोर राय यादवलाई मौलापुरका युवाबीच प्रेरणादायी नेतृत्वको प्रतीक बनाइदिएको छ। स्थानीयवासीले उनको पहललाई दिगो विकास र आत्मनिर्भर गाउँको दिशामा उठेको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
राजकुमार यादव
तराई-मधेसको महान पर्व छठ नजिकिँदै गर्दा मौलापुर नगरपालिका-८ र ९ का स्थानीयवासी र मौलापुर इलाका प्रहरी कार्यालयबीचको समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोनरनिया क्षेत्रमा व्यापक सरसफाई अभियान सञ्चालन गरिएको छ।
आज आइतबार बिहानदेखि सुरु भएको उक्त अभियानमा सोनरनिया बजार, अडुवा नदीको छठ घाट, ब्रह्मस्थान क्षेत्र र आसपासका मुख्य सडकमा सरसफाई कार्य गरिएको थियो।

कार्यक्रममा मौलापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शिवप्रसन यादव र मौलापुर इलाका प्रहरीका इन्स्पेक्टर भरत केसीको सक्रिय नेतृत्व रहेको थियो। साथै, स्थानीय समुदायका प्रतिनिधि, सामाजिक संघसंस्था, स्वयंसेवक तथा विद्यालयका विद्यार्थीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय युवा कमलेश यादवले सरसफाई अभियानमा मुख्य भूमिका निर्वाह गर्दै गाउँका जनप्रतिनिधि र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने कार्य गरेका छन्। उनका अनुसार छठ पर्वमा आउने भक्तजनलाई स्वच्छ र सुरक्षित वातावरणमा पूजा अर्चना गर्न सकियोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो।

प्रहरी-समुदाय साझेदारी अभियानले “सफा गाउँ, स्वस्थ समाज” भन्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रममा नयाँ पुस्ताका युवाहरुको समाजप्रतिको जागरुकता र जिम्मेवारीपूर्ण सहभागिता देखिनु सकारात्मक संकेतको रूपमा लिइएको छ।
स्थानियवासीहरुले प्रहरी र जनप्रतिनिधि सँगै हातेमालो गरेर गरेको यस्तो सामूहिक प्रयासले गाउँलाई सुन्दर र व्यवस्थित बनाउन सहयोग पुर्याएको बताएका छन्।
राजकुमार यादव
आज बिहान करिब ७:२० बजे रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसमा आगलागी भएको छ।
काठमाडौँबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाबारे बिहान करिब ७:४५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
सुरक्षाकर्मी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा बिहान ८:१५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार बस जलेर करिब रु. ३५ लाख बराबरको आर्थिक क्षति भएको बताइएको छ।
उक्त स्थान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब ३ किलोमिटर पश्चिम तर्फ पर्ने बताइएको छ।
बारा जिल्लाको पूर्वी क्षेत्रस्थित आदर्श कोतवाल गाउँपालिकामा युवाहरुले आफ्ना १४ बुन्दे मागहरू अघि सारेका छन् । माग पूरा नभएपछि उनीहरूले गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
स्ट्रिट लाइट जडान, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार लगायतका विषयलाई लिएर तीन दिनदेखि शान्तिपूर्ण आन्दोलन जारी रहेको आन्दोलनकारी युवा दिवेश कुमार सिंहले जनाएका छन् । उनीहरूले गाउँपालिका अध्यक्ष स्वयं वार्तामा बसेर माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
युवाहरुले अघि सारेका प्रमुख मागहरूमा सबै वडामा स्थायी स्ट्रिट लाइट जडान, विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै उपभोक्ता समिति गठन, सामाजिक सुरक्षा भत्ता घरमै वितरण, गाउँसभा जनसहभागितामूलक बनाउने, किसानका बाली क्षतिपूर्ति व्यवस्था गर्ने लगायतका विषय रहेका छन् ।
त्यसैगरी वडा नं. ५ को रुपौलिया-मेवा सडकको डुबान समस्या समाधान, स्वास्थ्य चौकीमा औषधि अभाव अन्त्य, विद्यालय व्यवस्थापन समिति गठन तथा अतिक्रमित विद्यालय जग्गा फिर्ता गराउने, मठमन्दिर र बजार व्यवस्थापन, कर्मचारीको नियमित उपस्थिति, पटेर्वा चौकमा CCTV क्यामेरा जडान तथा पटेर्वा खेलमैदान मर्मतसमेत माग सूचीमा परेका छन् ।
आन्दोलनरत युवाहरुले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरू तत्काल सम्बोधन गरी शान्तिपूर्ण आन्दोलन अन्त्य गर्न वातावरण बनाउन अनुरोध गरेका छन् ।
– राजकुमार यादव
रौतहटको गढीमाई नगरपालिका-६ धर्मपुर सिंगारमनमा जारी ५५औं महाविरी झण्डा मेला महोत्सव भोलि मंगलबार भव्य र सभ्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ ।
असोज २५ गतेदेखि सुरु भएको यस ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महोत्सवले स्थानीयबासीलगायत छिमेकी भारतबाट आएका दर्शकको ठूलो भीड तानेको छ । मेला स्थलमा प्रत्येक दिन अत्यधिक भीड देखिएको छ ।
महोत्सवको औपचारिक उद्घाटन नगर प्रमुख श्याम प्रसाद यादवले गर्नुभएको हो भने सम्पूर्ण कार्यक्रमको संयोजन वडाध्यक्ष राम सिंहासन यादवको अध्यक्षतामा भइरहेको छ ।
कार्यक्रममा भारतका प्रसिद्ध भोजपुरी कलाकार माही मनिषा, अमित पटेल , खेसारी टु र विशाल यादव सहित नेपालका राष्ट्रिय स्तरका दर्जनौं कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकहरूलाई मन्त्रमुग्ध पारेका छन् । सांस्कृतिक प्रस्तुतीहरूले मेला स्थललाई उत्सवमय वातावरणमा परिणत गरेको छ ।

महोत्सवमा दिन प्रतिदिन बढ्दो भीडलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ ।
विगतका वर्षहरूजस्तै यस वर्षको महाविरी झण्डा मेला पनि धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइँदै आएको छ । आयोजक समितिका अनुसार भोलि मंगलबार विशेष सांस्कृतिक कार्यक्रमसँगै महोत्सवको औपचारिक समापन गरिनेछ ।
– राजकुमार यादव
कटहरिया नगरपालिका -५ स्थित श्री जनता माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क प्राविधिक किताब वितरण गरिएको छ।
नगरप्रमुख अजय प्रकाश जयसवालले शिक्षामा समान पहुँच र गुणस्तर सुधारका लागि गरेको प्रतिबद्धता अनुसार आइतबार विद्यालय परिसरमै किताब वितरण गरिएको हो।
विद्यालयका कक्षा ९ र १० मा प्राविधिक तर्फ अध्ययनरत ९६ जना विद्यार्थीलाई वितरण गरिएको उक्त किताब नगरपालिकाको सहयोगमा उपलब्ध गराइएको हो।
कक्षा ९ का ४८ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ वटा विषयका किताब हस्तान्तरण गरिएको छ भने, कक्षा १० का ४८ जना विद्यार्थीलाई रु. १,२७६ मूल्य बराबरका ४ वटा विषयका अध्ययन सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ।
नगरप्रमुख जयसवालले अवसरका अभावमा कसैले पढाइ रोक्न नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोगका रुपमा विद्यार्थीलाई किताब निःशुल्क वितरण गरिएको बताए।
उनले भने, “शिक्षा नै विकासको मूल आधार हो, त्यसैले नगरका हरेक विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग गर्न हामी प्रतिबद्ध छौं।”
यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।





