– राजकुमार यादव
कटहरिया नगरपालिका -५ स्थित श्री जनता माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क प्राविधिक किताब वितरण गरिएको छ।
नगरप्रमुख अजय प्रकाश जयसवालले शिक्षामा समान पहुँच र गुणस्तर सुधारका लागि गरेको प्रतिबद्धता अनुसार आइतबार विद्यालय परिसरमै किताब वितरण गरिएको हो।
विद्यालयका कक्षा ९ र १० मा प्राविधिक तर्फ अध्ययनरत ९६ जना विद्यार्थीलाई वितरण गरिएको उक्त किताब नगरपालिकाको सहयोगमा उपलब्ध गराइएको हो।
कक्षा ९ का ४८ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ वटा विषयका किताब हस्तान्तरण गरिएको छ भने, कक्षा १० का ४८ जना विद्यार्थीलाई रु. १,२७६ मूल्य बराबरका ४ वटा विषयका अध्ययन सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ।
नगरप्रमुख जयसवालले अवसरका अभावमा कसैले पढाइ रोक्न नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोगका रुपमा विद्यार्थीलाई किताब निःशुल्क वितरण गरिएको बताए।
उनले भने, “शिक्षा नै विकासको मूल आधार हो, त्यसैले नगरका हरेक विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग गर्न हामी प्रतिबद्ध छौं।”
यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।










